‘बिसु’ पर्व एक जानकारी !
नयां वर्षकाे पहिलाे दिन अर्थात् बैशाख संक्रान्तिमा सुदूरपश्चिमी समुदायमा विशेष महत्व सहित हर्ष र उल्लासका साथ ‘बिसु’ पर्व मनाउने गरिन्छ ।
बिसु पर्वको रमझमले सुदुरपश्चिमका पहाडी जिल्लाहरु बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा लगायत सबै जिल्लामा बेग्लै राैनक देखिने गर्दछ। कामको शिलशिलामा नजिकै सीमावर्ती भारत लगायत परदेश गएका पहाडी ग्रामीण भेगका लाेग्नेमानिसहरु बिसु पर्व मनाउनकै लागि आजै दिन घर फर्किने गर्दछन् । भारतका विभिन्न शहर गएका लाेग्नेमानिस खुशी हुँदै घर-गाउँ फर्किन्छ्न भने फर्किन नसक्नेहरु आफु सकुशल रहेको जानकारी दिनकै लागि भएपनि आजकोदिन घरपरिवारलाई सम्झिनेगर्छ्न ।
यस अवसरमा यहाँका महिला दिदीबहिनी, चेलीहरु कर्मघरबाट माइती घरमा पुगेर भेटघाट तथा आशीर्वाद थाप्ने र मिष्ठान्न भोजन खाने/खुवाउने चलन छ । आजैकै दिन यस भेगका मानिसहरुले क्षमता अनुसार नयाँ नयाँ लुगाहरु समेत लगाउने चलन रहेको छ ।
बिसु पर्व तथा नयाँ वर्षकै लागि कमेराे र राताे माटाेले छ्यापेर/लिपेर घर चिटिक्क सजाइन्छ तथा सरसफाई गरिन्छ । याे काम प्राय: चैत महिनामै महिला-पुरुष मिलेर गर्छन् । यस दिन विभिन्न देवीदेउताका थानमा जाँत (मेला) समेत लाग्ने गर्छ ।
💖💖💖💖💖💖💖केहाे त बिसु, कसरी मनाइन्छ ?💓💓💓💓💓💓
बिसु पर्व नयाँ वर्षकाे स्वागत र खुसियालीमा मनाइने एक विशेष महत्वकाे परम्परागत चाड हाे । याे विषेशगरी सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लामा मनाइन्छ ।
हरेक साल बैशाख १ गते मनाइने याे पर्वकाे एक राेचक प्रचलन के छ भने देवर-भाउजू, नन्द-भाउजू र साली-भिनाजुहरूले एकआपसमा सिस्नुपानीले हानेर रमाइलाे गर्ने गर्छन् । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।
बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै लाेप हुँदै गएकाे छ ।
बिसु पर्वमा मुख्यातया मासकाे दालबाटबाट बनाइने विशेष स्थानीय परिकार ‘बटुक’ र चुकाउनी खाने चलन । यसका साथै खिर, सेल, पुरीलगायत मिष्ठान्न पकाएर खाने चलन छ । तर यस दिन ननुहाईकन खाना नखाने मान्यता छ, नुहाउन पनि जाैँ-तील, तितेपातीलगायत सामग्री प्रयाेग गरिन्छ, जुन पवित्रताकाे प्रतीक मानिन्छ ।
बिसुको अवसरमा देउडा खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने गरिन्छ । यस दिन गाइने देउडा भाका ‘बुढी माइतै बाली माइतै विसु खी बखत, कि रातो गुराँउसी फूल कि रातो रगत…’ जस्ता राेचक हुन्छन् ।
Comments
Post a Comment